सोमबार, बैशाख २१, २०८३

वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने सोचेकै छैन : प्रचण्ड

काठमाडौं,२० पुस । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार  भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यता सोचेको छैन ।

कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् । वाम गठबन्धन र पार्टी एकता गर्ने संकल्पका साथ चुनावमा गएको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै उनले भने, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।

उनले एमाले र माओवादीबीच पार्टी एकतामा कुनै अप्ठ्यारो नभएको पनि बताए । प्राविधिक कारणले मात्र केही दिन यता छलफल रोकिएको भन्दै उनले भरेभोलि नै बैठक बस्ने बताए ।

प्रचण्डले पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादी नेताहरुको अभिव्यक्तिको पनि खण्डन गरे । उनल भने, पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ । र, दुबै नेता कार्यकारी भूमिका हुनुपर्छ भन्ने विवाद छैन ।