विराटनगर,१९ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिका लागि आफू पनि योग्य रहेको बताएका छन् ।
प्रतिनिधिसभा चुनाव पराजय व्यहोरेपछि उनी नेतृत्वको दौडमा नरहेको मानिएको थियो । तर, कोइरालाले पार्टी सभापतिमा आफ्नो दाबेदारी कायम रहेको संकेत दिएका छन् ।
बुधबार बिराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले आफू पनि कांग्रेसको पदीय जिम्मेवारी लिन सक्ने अवस्थामा रहेको बताए । उनले भने, ‘म लायक छैन भन्ने अवस्थामा छैन । म लायक छु ।’
पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरणको बहसतर्फ इंगित गर्दै उनले भने, ‘म कार्यकर्ता भेट्ने र खट्नेमा पनि उनीहरु जतिकै छु । युवाहरुको जाँगर र पाकाहरुको होस् मिलाएर कांग्रेस वनेको छ, त्यसलाई युवाहरुले पनि विसनु भएन ।’
नेता कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्नु पर्ने वताए ।
संविधान अनुसार राष्ट्रियसभा गठनपछि मात्र सरकार छोड्नु पर्ने भएपनि प्रजातान्त्रिक मुलुकमा निर्वाचन भएपछि सरकार छाड्ने परिपार्टी रहेको बताए । ‘संविधानत देउवाजी अहिले सरकार प्रमुख हो’ उनले भनेका छन्, ‘तर, निर्वाचनको मत परिणाम आएको यतिका दिनसम्म सरकारमा वसिरहनु उचित हुँदैन ।
कांग्रेस नेता कोइरालाले वाम गठवन्धनले सरकार निर्माणको लागि जनमत पाएको बताए ।
