शुक्रबार, चैत १६, २०८०

वाम गठबन्धन : मुलुकलाई विकास र समृद्ध बनाउनुपर्नेमा जोड

काठमाडौं,१९ पुस । मुलुकमा राजनीतिक स्थिरतालाई कायम राख्नका लागि जनादेशअनुसार सरकार गठन गर्न आवश्यक रहेको विभिन्न दलका नेताले बताउनुभएको छ ।

राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी विभिन्न दलका नेताले वाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण गरी मुलुकलाई विकास र जनतालाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
एमालेका नेता रघुवीर महासेठले निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरता राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भए पनि मत परिणाम सार्वजनिक भएसँगै चलखेल शुरु भएको बताउँदै मुलुकको राष्ट्रिय हित र समृद्धिका लागि हुन लागेको वाम एकताविरुद्ध भएका षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

वाम गठबन्धनका पक्षमा जनादेश भएको भए पनि सरकार गठनमा भएको ढिलाइले आशंका व्यक्त गरेको बताउँदै उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशी शक्तिको षड्यन्त्र शुरु भएको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकाले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुनेहुँदा त्यसमा आफूहरुको शुभकामना रहेको सुनाउँदै त्यसो हुन नसकेमा अन्य विकल्पको स्वभाविक खोजी हुने बताउनुभयो । उहाँले भन्नुभयो, राजनीति भनेको सबै सम्भावनाको खेल हो, सबै सम्भावनाको खोजी हुन्छन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले दुवै पार्टी एकता गर्ने विश्वासमा जनताले मतदान गरेको बताउँदै दुवै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद दिनुपर्नेमा जोड दिनुभयो ।

एमाले तथा माओवादीले जितेका स्थानमा एकअर्काको सहयोग रहेको बताउँदै उहाँले भन्नुभयो, “जनादेशलाई स्वीकार गर्नुपर्छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र पार्टी अध्यक्ष र संसदीय दलको नेतासहित सबै पद एउटै पार्टीले लिने हो भने त्यसको के महत्व हुन्छ ? एमालेले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्ने र अर्को माओवादीले स्वीकार्नु पर्ने उहाँको भनाइ थियो ।