शुक्रबार, बैशाख ०७, २०८१

वाम एकताले केहि दिनभित्रै सार्थकता पाउछ : देवेन्द्र पौडेल

काठमाडौं,१७ पुस । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गर्नुभएको छ ।

सञ्चारकर्मीहरुसँग आइतबार विशेष कुराकानी गर्दै उहाँले भन्नुभयो, “दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ, त्यसले आर्थिक समृद्धि र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दछ, हामी त्यसका लागि सार्थक प्रयासमा लागिपरेका छौँ ।”

नेता पौडेलले एकतालाई सार्थक निष्कर्षमा पुर्याउन दुवै पार्टीका तर्फबाट युवा नेतृत्वले पहल गरिरहेको र केही दिनभित्रै सार्थक परिणाम आउने विश्वास व्यक्त गर्दै “पार्टी एकता सम्मानजनक किसिमले हुन्छ, कोही कसैलाई मानमर्दन गर्ने भन्ने हुँदैन, सबैलाई सम्मान हुने गरी निर्णय हुन्छ,” भन्नुभयो ।

एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको ठोस खाका तयार पार्नुभएको उल्लेख गर्दै उहाँले दुवै पार्टीको साझा मूल्य र अवधारणालाई संस्थागत हुने गरी निर्णय गरिने स्पष्ट पार्नुभयो ।

नेता पौडेलले पार्टी एकतालाई सार्थक बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष तहमा र दोस्रो तथा तेस्रो तहका नेताहरुले पनि आन्तरिक तयारी गरिरहेको चर्चा गर्दै एकता प्रक्रियालाई सफल बनाउन जनस्तरबाट पनि दबाव आएको बताउनुभयो ।

नेपाली जनताले ठूलो अपेक्षाका साथ वामगठबन्धनलाई विजयी गराएको भन्दै उहाँले आगामी सरकारले जनताको अपेक्षालाई पूरा गर्दै केही ठूला परियोजनासमेत शुरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।