काठमाडौं,१४ पुस । एमालेले राजनीतिको गाँठो फुकाउन लचकता अपनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख खोलेपछि शीर्ष नेतृत्व आफ्नो अडानबाट पछि हटेका हुन् । बैठकमा गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिने विश्लेषण सुनाएका थिए ।
एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने गौतमको विश्लेषण थियो ।
बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।
त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहानै शीतलनिवास पुर्याइसकेका थिए ।
यसवीचमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेकी थिइन् । साथै उनले राजपा र संघीय फोरमका नेताहरुसँग पनि छलफल गरेकी थिइन् । पछिल्लोपटक विहीबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्दा फरक नपर्ने केपी ओलीको सन्देश सुनाएका थिए ।
एमाले एकल संक्रमणीय हुनुहुँदैन भन्ने सैद्धान्तिक मान्यतामा एमाले यथावत छ । तर, उसले आफ्नो विमति हुँदाहुँदै राजनीतिको गाँठो फुकाउन लचकता अपनाएको मात्रै हो ।
अब राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा देखिएको विवादबाट एमाले पछि हटेपछि सरकार गठन र राष्ट्रियसभा निर्वाचनको मार्गप्रशस्त हुने अनुमान गर्न सकिन्छ ।
