सोमबार, बैशाख २१, २०८३

‘मोडालिटी’ टुंग्याएर एकता गर्ने एमाले-माओवादीविच समझदारी

काठमाडौं,११ पुस । प्रमुख दुई बाम दल नेकपा एमाले-माओवादी केन्द्रबीच पार्टी एकताको मोडालिटी बनाएर एकतामा जाने समझदारी भएको छ ।
पार्टी एकताका विषयमा अनेक हल्ला चलिरहेका बेला पटकपटक भएको दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पार्टी एकताको ‘मोडालिटी’ टुंग्याएर एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको हो ।

यस विषयमा मंगलबार नै दुई शीर्ष नेताहरुबीच छलफल हुने छ । माओवादी अध्यक्ष प्रचण्ड चितवन फर्केलगत्तै एमाले अध्यक्ष ओली र उहाँबीच पार्टी एकता र सरकार गठनका विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम सार्वजनिक भएपछि दुईपटक ओली र प्रचण्डबीच ६ घन्टासम्म लामो संवाद भएको छ । उहाँहरुबीच नियमित टेलिफोन कुराकानी भइरहेको छ । तर, दुवै नेताले सबै टुंगो नलागेसम्म गोप्य राख्ने समझदारी गरेका कारण दोस्रो तहका नेताहरूसमेत संवादको समझदारीबारे बेखबर छन् ।

दुई नेताबीचको छलफलमा पार्टी एकता र सरकार गठनबारे विभिन्न ‘मोडालिटी’ मा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली बनेपछि पार्टीको नेतृत्व कसरी टुंग्याउने, शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको पनिन नेताहरूको भनाइ छ ।

एकता गर्दा कार्यविभाजन कसरी गर्ने, नेताहरूको व्यवस्थापन कसरी गर्ने, सैद्धान्तिक, वैचारिक पक्षको टुंगो कसरी लगाउने र दुवै पार्टीको तलसम्मको संगठन कसरी मिलाउने भन्नेसम्मका सांगठनिक पक्षमा केन्द्रित रहेर कुराकानी भइरहेको माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताउनुभएको छ ।

समाचार सूत्रका अनुसार एउटा पार्टीको प्रमुख अध्यक्ष र अर्को पार्टीको प्रमुख सहअध्यक्ष रहने, दुवै पार्टीका प्रमुखहरू संयोजक रहने गरी संक्षिप्त दशौँ महाधिवेशन आयोजक समिति बनाउनेलगायतको विकल्पमा रहेर कुराकानी चलिरहेको छ ।

त्यस्तै, सरकारको नेतृत्व पनि आलोपालो गर्ने ‘जेन्टलम्यान’ सहमतिबारे पनि छलफल चलिरहेको छ । माओवादीको विगतको स्थायी समिति र पोलिटब्युरो भद्दा भएकाले समितिमा कुन तहसम्मका नेताहरूलाई समेट्ने भन्ने जटिलता देखिएको नेताहरूको भनाइ छ ।

त्यसोा त प्रक्रियागत विषय टुंग्याउन ओली र प्रचण्डको विश्वासमा एमालेबाट विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा बढी सक्रिय रहनुभएको छ । दुवै पक्षका दोस्रो तहका नेताहरूले प्रक्रियागत विषयमा पनि मोटामोटी गृहकार्यलाई अन्तिम रूप दिने तयारी गरिसकेको छन् ।