सोमबार, बैशाख २१, २०८३

पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा बसेको छैन : प्रचण्ड

चितवन,११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन् ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए । दाहालले भने, “म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन् ।

यसमा द्विविधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।” दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताए । पूर्वप्रधानमन्त्री दाहालले भने, एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ ।

सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताए ।