शुक्रबार, चैत १६, २०८०

बोर्डले १४ अर्ब भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गर्दै

काठमाडौं,११ पुस । चिनियाँ कम्पनी हुवाजिनसँग  नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको लगानी बोर्डले आयोजना लगानी सम्झौता (पीआईए)को प्रक्रिया अगाडि बढाएको छ ।

खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो । उक्त कम्पनीले लामो समयदेखि अपेक्षाअनुसारको खानी पाउन सकेको थिएन । सोही कारण लगानी सम्झौता रोकिँदै आएको थियो । विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भन्छन्, ‘पीआईए गर्न हुवाजिनका अधिकारीसँग छलफल अगाडि बढाएका छौं । उक्त कम्पनीले १४ अर्ब (१४० मिलियन डलर) रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्दैछ । नारायणी अञ्चलको कुनै जिल्लामा उद्योग स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोर्डका अनुसार उद्योगबाट दैनिक तीन हजार टन उत्पादन गर्ने लक्ष्य छ । तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । तर, उद्योगका लागि खानी नपाउँदा अन्य प्रक्रिया अगाडि बढाएको थिएन ।

उद्योगका लागि आवश्यक जग्गा खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सरकारले स्वीकृति नदिएका कारण त्यसको प्रक्रिया पनि रोकिएको थियो ।

सरकारले जग्गाको हदबन्दी पनि यसअघि नै फुकाइसकेको छ । बोर्डका अनुसार उद्योगका लागि ३२ हेक्टर जग्गा आवश्यक छ ।

‘हुवाजिन सिमेन्ट नारायणी’ नामक कम्पनी पनि दर्ता भइसकेको छ । शतप्रतिशत विदेशी लगानीमा निर्माण गर्न खोजिएको उक्त आयोजना २० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमा सञ्चालन गर्ने कम्पनीको योजना छ ।

देश सिमेन्टमा आत्मनिर्भर बन्दै गएको छ । अबको डेढ वर्षभित्रमा नेपाल सिमेन्टमा आत्मनर्भर बनिसक्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

सिमेन्टको कच्चापदार्थ क्लिंकर अहिले भारतबाट आयात हुँदै आएको छ । देशमा सञ्चालित केही उद्योगसँग क्लिंकर उत्पादन गर्ने क्षमता नभएका कारण भारतबाट आयात गर्नुपरेको हो ।