सोमबार, बैशाख २१, २०८३

सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक छैन : सिंह

काठमाडौं,११ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव अघि नै पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमानेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको खुलासा गरे ।

‘कांग्रेसको अवस्था अत्यन्तै एन्टिकरेन्ट छ, तपाईंले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ छैन, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त बुझेको छैन यसमा बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भनेर मैले भनेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘उहाँले के गर्नुपर्छ भन्नुभयो । मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुपर्‍यो ।’

तर आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहको भनाइ छ । कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आए पनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ ।

‘एउटा अन्तर्क्रियामा ज्यूँदो कांग्रेस अहिले मृत अवस्थामा गइरहेको बेला तिमीहरुले के आवाज उठायौ भनेर भन्दा त म छाँगाबाट खसेजस्तो भएँ,’ प्रकाशमानले भने, ‘यस्तो अब्जरभेसन पिपुलले गरिरहेको छ । कांग्रेसलाई ब्लाइन्डली सपोर्ट गर्नेहरुले नै यस्तो भनेपछि त कुरा बिग्रिएकै रहेछ नी त । त्यो त चुनावको रिजल्टले पनि देखायो ।’

वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको उनले बताए । पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुधार ल्याऊ भन्ने अहिलेको चुनावको अभिमतले पनि देखाएको उनले बताए ।