रामेछाप,१० मंसिर । सरकारले आउने असार मसान्तसम्म भूकम्पले क्षति भएका निजी आवसको निर्माणको काम सक्ने समयसीमा तोकेको छ । तर पुननिर्माणको अहिलेको गतिलाई हेर्दा सरकारले तोकेको समयमा निर्माणको काम पुरा हुने संकेत कतै देखिँदैन ।
रामेछाप जिल्लामा ४५ हजार ५० जना भूकम्पपीडित परविार लाभग्राहीको सूचिमा छन् । त्यस्तै थप ११ हजार ८४८ ले आफूहरु लाभग्राहीको सूचिबाट छुटेको भन्दै गुनासो भरेको आधारमा पुनः सर्भे भएको छ । यी मध्ये ४२ हजार १५ जनाले निजी आवास निर्माणको लागि सम्झौता गरेर पहिलो किस्ता रकमसमेत लिएका छन् । त्यस्तै २ हजार १ सय ४९ घर परिवारले घर मर्मतको लागि सम्झौता गरेका छन् ।
रामेछापमा ५५ हजार भन्दा बढी निजी आवास बन्नु पर्नेमा हालसम्म जम्मा ७ हजार ७ सय घरको निर्माण कार्य मात्र सम्पन्न भएको छ । अझै ४५ हजार भन्दा बढी घरहरु बन्न बाँकि छन् । नयाँ आवास निर्माणको लागि सम्झौता भएका घरहरुलाई मात्र हेर्ने हो भने पनि अझै ३४ हजार ३ सय १५ घरहरुको निर्माण हुन बाँकी छ । यस हिसावले सरकारले तोकेको असार मसान्तसम्म यति धेरै घरहरु बन्ने कुरा असम्भव जस्तै छ ।
रामेछापका साविकका २५ वटा भन्दा बढी गाविसहरु सुक्खाग्रस्त छन् । ती स्थानमा पुनर्निर्माणको लागि जनतालाई पानीको समस्या छ । २ रुपैयाँ लिटरसम्म पानी किनेर गाउँमा पुर्याउने सर्वसाधारणलाई घर बनाउन पानी ढुवानी निक्कै खर्चिलो बनेको छ । यसले गर्दा पुननिर्माणको काममा चुनौती भएको प्रमुख आचार्य बताउँछन् ।
यसैगरी कतिपयले लाभग्राहीको सूचिमा परी पहिलो किस्ता रकम लिएका भए पनि उनीहरु काठमाडौँका स्थायी वासिन्दा भएकाले घर बनाउन चासो नदिएको आचार्य बताउँछन् ।
हालसम्म ७ हजार ७ सय घरको निर्माण सम्पन्न भएको भए पनि रामेछापमा पुननिर्माणको काम अन्य जिल्लाको तुलनामा निक्कै अघि बढेको प्रमुख आचार्य बताउँछन् । ‘अन्य जिल्लामा भन्दा हाम्रोमा राम्रोसँग काम अघि बढेको छ ।’ तर, असार मसान्तसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न हुनेमा भने स्वयम् प्रमुख नै विश्वस्त छैनन् ।
