सोमबार, बैशाख २१, २०८३

देउवा सरकारलाई जथाभावी निर्णय नगर्न एमालेको चेतावनी

काठमाडौँ,२७ मंसिर । नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले कामचलाउ सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न लागेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रियसभा गठनको बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा लागेको त होइन भन्ने आशंका समेत गरेको छ । सरकारले बिहीबार मन्त्रिपरिषद बैठकबाट ७ वटा प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । तर, वाम गठबन्धनले यसमा आपत्ति जनाएको छ ।

एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारले गर्ने बताए ।

‘जतिबेला गर्नुपर्ने हो, त्योबेला नगर्ने । अहिले चुनावले नयाँ म्याण्डेट दिइसकेपछि प्रदेश प्रमुख नियुक्त गर्ने, जीएम नियुक्ति जस्ता काम गर्न मिल्दैन’ खरेलले भने्, ‘उहाँले त अब तत्कालै निर्वाचनमा पराजय स्वीकार गरेर राजीनामा गर्ने र जय नेपाल भन्दै घर जानुपर्ने हो ।

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले अघि थपे, देउवाजीले किन राजीनामा दिनुभएको छैन, मलाई अचम्म लागिरहेको छ । प्रदेशका सांसदहरुको सपथग्रहण, राष्ट्रियसभा निर्वाचन कानुन ल्याउने जस्ता काम अब नयाँ सरकारले व्यवस्थापन गर्ने खरेलले बताए । चुनावको लगभग सबै रिजल्ट आइसक्यो, प्रधानमन्त्रीमा थोरै पनि नैतिकता छ भने उहाँले गर्ने पहिलो काम भनेको राजीनामा हो’ उनले भने, ‘हामीले यो राजीनामा मागेको होइन, सम्झाएको हो ।

बेलायत, भारत जस्ता देशहरुमा आफ्नो पार्टी हारेपछि प्रधानमन्त्रीले राजीनामा घोषणा गरेको स्मरण गर्दै उनले भने, तर, उहाँ त अझै पनि केही महिना सत्तामा बस्न पाइन्छ कि भनेर बखेडा झिक्न थाल्नुभएको छ ।

कामचलाउ सरकारले तोकेका प्रदेश प्रमुख र राजधानी नवनिर्वाचित सरकारले मान्न बाध्य नहुने समेत एमाले प्रष्ट पारेको छ ।