सोमबार, बैशाख २१, २०८३

अबका चुनावमा भोट नमागी भोट दिऊँदिऊँ जस्तो लाग्ने गरी काम गर्छौ : ओली

झापा,२५ मंसिर ।  आफनो गृहजिल्ला झापा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेपछि विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताएका छन् ।

झापा९ ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्रपत्र ग्रहण कार्यक्रममा बोल्दै ओलीले भने, ‘विगतमा विजयले उन्माद आउने गरेको देखिएको छ, विजयपछि राज्य दमनकारी हुने, कर्तव्यको वास्ता नगर्ने आशंका छ । म के आश्वास्त पार्छु भने हामी आफैँ दमन देखेका र भोगेर यहाँसम्म आएका छौं । कहाँनेर दुख्छ घाउ भन्ने हामीलाई थाहा छ ।
अध्यक्ष ओलीले प्रतिपक्षलाई साथ लिएर सम्मानपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । एमालेका जनप्रतिनिधिहरुलाई अबका चुनावमा ‘भोट नमागी, भोट दिऊँ–दिऊँजस्तो लाग्ने’ गरी काम गर्न अपिल गरे ।

बहुमतले मात्रै मुलुकमा स्थायित्व आउन नसक्ने ठोकुवा गर्दै ओलीले नेतृत्वको इच्छाशक्ति भएर विकास, समृद्धि र स्थायित्व ल्याउन कुनै गाह्रो नभएको बताए ।

झापामा राप्रपासहितको फरक गठबन्धन बनाउनु बाध्यता रहेको उल्लेख गर्दै ओलीले त्यसालाई शतप्रतिशत अनुमोदन गरेको भन्दै झापाली जनतालाई आभार व्यक्त गरे ।