सोमबार, बैशाख २१, २०८३

प्रचण्डको शानदार विजयीसँगै चितवन वाम गठबन्धनको किल्ला

चितवन,२५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन् ।
उनले प्रतिस्पर्धी उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरे । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको सर्मथनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्रीको जिम्मेवारी पाएका पाण्डे अब ५ वर्ष कुनैपनि संसदीय जिम्मेवारीमा रहने छैनन् ।
चितवन निर्वाचन क्षेत्र नः १ बाट एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे दोस्रोपटक निर्वाचित बने । पाण्डेले चिरपरिचित प्रतिद्धन्द्धी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरे ।
पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी जम्काभेट थियो ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए ।
साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाँभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।
शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता शेषनाथ अधिकारीको सिंहदरवार प्रवेशको ढोका बन्द गराउँदै, एमाले अध्यक्ष कृष्णभक्त पोखरेल चितवन २ बाट निर्वाचित भए ।
पोखरेलले कांग्रेसका उम्मेदवार अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले हराए ।
पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे चितवनका साविक ५ क्षेत्र ३ वटा बनेपछि पोखरेल र अधिकारी एउटै क्षेत्रमा आइपुगेका हुन् ।

प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र रहेको चितवनको ६ वटा प्रदेशसभा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन् । धेरैले अपेक्षा गरेभन्दा फरक नतिजा निकाल्दै वाम गठवन्धनका सवै उम्मेदवारहरु विजयी भएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नः ३ को (क) र निर्वाचन क्षेत्र नः २ को (क) लाई कांग्रेस उम्मेदवारहरुले जित्न सक्ने लख काटिएको थियो । यद्यपी, यी क्षेत्रबाट समेत वाम गठवन्धनका उम्मेदवारहरु फराकिलो मतसहित विजयी भए ।

निर्वाचन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) बाट एमाले प्रदेश नः ३ का सदस्य रहेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भए ।

उनी ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त ल्याए ।

क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्ण खनाल विजयी भए । उनी ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् ।

खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नः २ को प्रदेश क्षेत्र (क) मा वामगठवन्धनका उम्मेदवार माओवादी नेता घनश्याम दाहाल विजयी भए ।

दाहालले कांग्रेस चितवनका उपसभापति जितनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरे । दाहालले २० हजार ८ सय ३१ मत ल्याई जीत हात पार्दा पराजित जीतनारायणले १५ हजार ६ सय ६३ मत ल्याए । दाहाल माओवादी चितवनका जिल्ला सहइन्र्चाज हुन ।

चितवन क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी अत्याधिक मतका साथ विजयी भए । उनी ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुन सफल भए ।

सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरे । सुवेदी एमाले प्रदेश नः ३ का सदस्य हुन् ।

चितवन क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका कृष्ण भुर्तेल विजयी भएका छन् । भुर्तेल १७ सय ४० मतको अन्तरले विजयी भएका हुन् ।

उनले २४ हजार ७ सय ८५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत ल्याए ।

क्षेत्र नं. ३ (ख) मा वाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका माओवादी केन्ऽका नेता रामलाल महतो विजयी भए । उनी ९ हजार १ सय ६१ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।

रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा पराजित उम्मेदवार नेपाली काँग्रेसका साजन महतोले १५ हजार ९ सय ४५ मत प्राप्त गरे ।