मङ्गलबार, बैशाख ०४, २०८१

रुकुमबाट जनार्दन शर्माको १८ हजार बढि मतान्तरको जित

रुकुम,२३ मंसिर : रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माले ३४ हजार ४ सय २ मत गरे भने शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।

हालसम्म घोषणा भएका मत परिणाम अनुसार सबैभन्दा बढी मतान्तरमा जित्ने शर्मा छन् । ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय १५ मत सदर भएको छ भने तीन हजार चार सय ७० मत बदर भएको छ । विना विभागीय मन्त्रीसमेत रहेका शर्माले २०७० सालको संविधान सभा सदस्यको निर्वाचनमा पनि शाहलाई नै फराकिलो मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा शाहको भन्दा शर्माको मत १२ हजार ५ सय ९९ ले बढी थियो ।

यो निर्वाचनसँगै शर्मा र शाह तीन पटक आमने सामने भए । २०४८ को प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७० को संविधान सभा सदस्य निर्वाचन र यो भर्खर मत परिणाम सार्वजनिक भएको निर्वाचनमा यी दुई जनाबीच प्रतिसप्रधा भयो । २०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र यसपाला शर्माले शाहलाई पराजित गरेका छन् । सो क्षेत्रबाट प्रदेश सभा सदस्यको क निर्वाचन क्षेत्रमा माओवादीका रातो कामी र ख निर्वाचन क्षेत्रमा पनि माओवादीकै गोपाल शर्मा विजयी भएका छन् ।