काठमाडौं,२३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।
सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।
मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।
वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।
प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो । विगतमा सिंह दुईपटक संविधानसभामा जितेका छन् ।
