शुक्रबार, बैशाख ०७, २०८१

६ स्थान मध्ये एमाले सहितको वाम गठबन्धन अग्रस्थानमा

काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभाको अहिलेसम्म नतिजा आएका ६ स्थान मध्ये एमाले सहितको वाम गठबन्धन अग्रस्थानमा देखिएको छ । अहिलेसम्म नतिजा आएका ६ स्थान मध्ये एमालेले ४ स्थानमा जीत हासिल गरेको छ ।

पछिल्लो पटक म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् । प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।

यसअघि एमालेबाट बझाङबाट एमालेका भैरव सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै मनाङबाट पाल्तेन छोपाङ गुरुङ र मुस्ताङबाट प्रेम तुलाचन प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट विजयी भएका हुन् ।

यसैगरी पूर्वी रुकुमबाट माओवादीका उम्मेदवार कमला रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यस्तै हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मत गणना भइरहेका प्रतिनिधिसभाका निर्वाचन क्षेत्र मध्ये एमाले २७ स्थानमा अगाडि देखिएको छ भने माओवादी १५ र कांग्रेसले ६ स्थानमा अग्रता लिएको छ ।