सोमबार, बैशाख २१, २०८३

आज दोस्रो चरणको निर्वाचन, ढुक्क भएर मतदान गर्न आग्रह

काठमाडौं,२१ मंसिर । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको आम निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा विहिवार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने९”एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ ।”

यो निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भएकोले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने प्रमुख आयुक्त यादवले बताए ।
दोस्रो चरण अन्तर्गत भोलि हुने चुनावमा जम्मा चार हजार ४८२ जना उम्मेदवारहरुवीच प्रतिस्पर्धा हुने छ । प्रतिनिधिसभाका १२८ सिटका लागि एक हजार ६६६ र प्रदेशसभाका २५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि पाँच हजार ८ सय ३८ जना रहेका छन् । दोस्रो चरण अन्तर्गत बिहीबार हुने ४५ जिल्लामा जम्मा मतदाता एक करोड २२ लाख ३९ हजार ९९३ जना रहेका छन् ।
निर्वाचन आयोगले मतदान गर्ने अधिबारबाट बञ्चित नहुन भनी परिचय खुल्ने सरकारी प्रमाणपत्रहरुबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।