सोमबार, बैशाख २१, २०८३

बाँदरमुढे घटनाका पीडितहरुसँग प्रचण्डको तीनबुँदे सम्झौता

नारायणगढ,१९ मंसिर । वाम गठबन्धनका नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहालले बाँदरमुढे घटनाको गल्ती महसुस गर्दै माडीलाई मणि बनाउने संकल्प गरेका छन् ।

चितवनमा लोकतान्त्रिक गठबन्धनबाट वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धा बढेपछि उनले मतदाता रिझाउने प्रयास गरिरहेका छन् । क्षेत्र नं ३ मा चुनाव जित्न माडी उपत्यका नै निर्णायक देखिएपछि दाहालले बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको बताउँदै माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने आश्वासन दिए ।

चुनाव जित्ने कसरतमा चितवनमै केन्द्रित रहेका प्रचण्डले १२ वर्षदेखि सम्बोधन गर्न नसकेको बाँदरमुढे घटनाका पीडितहरुसँग तीनबुँदे सम्झौतासमेत गर्न भ्याए । सम्झौतामा घटनाका मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ । व्यवस्था सम्झौतामा उल्लेख छ ।
त्यस्तै घटनाका घाइतेहरुका लागि औषधि उपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार, नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गरिने उल्लेख छ ।

बाँदरमुढे पीडित परिवारसँग सम्झौता गरेको प्रचार गरिए पनि चुनावको मुखमा आएर माओवादी केन्द्रका अध्यक्ष दाहालले बाँदरमुढे घटनाका घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे सहमति भएकोमा समितिका सदस्यहरुले आपत्ति जनाएका छन् ।

समझदारी गर्ने व्यक्ति घटनाका पीडितले गठन गरेको कार्यसमिति बाहिरका भएको र संघर्ष समितिका अध्यक्षलाई समेत जानकारी नभएको भन्दै अध्यक्ष मुक्तिनाथ न्यौपानले आपत्ति प्रकट गरेका छन् ।