शुक्रबार, चैत १६, २०८०

मेरो प्रतिस्पर्धी कोहि छैन,म राम्रोसँग जित्न गइरहेको छु : यादव

काठमाडौँ,१८ मंसिर ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुन्य समयको अघिल्लो दिन प्रसन्न मुद्रामा देखिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका यादव खुशी मात्रै देखिएनन्, राम्रोसँग जित्ने विश्वास समेत व्यक्त गरे ।

सोमबार बिहान पत्रकारहरुसँग सदरमुकाम राजविराजमा भेटघाट गर्दै अध्यक्ष यादवले भने, मेरो प्रतिस्पर्धी समेत कोहि हुने छैनन् । म राम्रोसँग जित्न गइरहेको छु ।

यादवले जनताले आफूलाई धेरै माया गरेकाले बिना प्रतिस्पर्धीकै आफूले जीत हात पार्ने बताए । उनले भने, ‘धनुषा क्षेत्र नम्बर ३ मा पनि मधेशी गठबन्धनकै उम्मेदवार राजेन्द्र महतो जित्ने पक्का छ ।

उनले प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत आउने दाबी गरे । ‘यो प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ’ यादवको दाबी छ ।

२ नम्बर बाहेक अन्य प्रदेशमा पनि मधेसी जनताले मधेसवादी दललाई नै मत दिने बताउँदै उनले आफूहरुले उल्लेख्य सिट ल्याउने बताए । ‘प्रतिनिधि र प्रदेशसभामा पनि हाम्रो सम्मानजनक स्थान आउँछ’, अध्यक्ष यादवले भने, ‘हामी मजबुत अवस्थामा रहन्छौं ।