झापा,१६ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफनो क्षेत्रको मतदातासंग अन्तिम सभा सम्वोधन गरेर चुनावपछि विजयी उत्सवमा भेट्ने वाचा गरेका छन् । ओलीले दोस्रो चरणको चुनावको मौन समयको दुई दिन अघि नै आफ्नो क्षेत्रको चुनावी अभियानको मैझारो गरेका छन् ।
आयोजित सभालाई सम्बोधन गर्दै झापा ५ का उम्मेदवार समेत रहेका ओलीले आफ्नो क्षेत्रका मतदातासँग चुनावपछि भेट्ने बताए । उदयपुर, काठमाडौं चितवन, धनुषा लगायतका क्षेत्रमा जानु पर्ने भन्दै उनले भने, ‘मसँग भोलि र पर्सिको दुई दिनको समय छ । यो दुई दिन अरु जिल्लामा मैले समय दिनु पर्नेछ । दमकका लागि यो नै अन्तिम सभा हो । चुनावपछि विजय उत्सावमा भेटौंला ।’
यो पटक ओलीले आफ्नो क्षेत्रमा धेरै समय दिएका छैनन् । उनी अधिकांश समय वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न विभिन्न स्थानमा पुगेका छन् ।
