टोकियो,१६ मंसिर । नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ ७५७ खरिदका लागि बीबी एयरवेजलाई ४५ दिने म्याद दिएको छ । यो समयमा जहाज खरिदको लागि सबै रकम बुझाउनु पर्नेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजले असोज अन्तिम साता बोइङ खरिदका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख बुझाएको थियो । तर, लामो समय खरिद सम्झौता गर्न आनाकानी गरेपछि निगमले एक हप्ते म्याद दिँदै सार्वजनिक सूचना निकाल्यो । नियम र एयरवेजबीच गत मंगलबार खरिद सम्झौता भएको छ ।
निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भने, ‘खरिद सम्झौता अनुसार अब ४५ दिन भित्रमा बाँकी रकम बुझाउनु पर्छ ।
निगमले बीबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गर्न लागेको छ । यसमध्ये १० प्रतिशत अर्थात एक करोड ५० लाख अग्रिम भुक्तानी दिइएको छ । अब बीबी एयरवेजले १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।
मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि वायु सेवा निगम बोइङ ७५७ बेच्ने निर्णयमा पुगेको थियो । यो विमान सञ्चालनमा ल्याउनका लागिमात्र झण्डै ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
निगमले सन् १९८७ मा खरिद गरेको यो विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् । एक उच्च अधिकारीले भने, ‘अब यात्रु बोक्नका लाग यो विमान उचित हुँदैन । यसलाई मर्मत गरेर कार्गाेको रुपमा प्रयोग गर्न सकिन्छ ।
विमान १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको सुरुअाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बेचेको छ ।
