शुक्रबार, चैत १६, २०८०

गोरखामा मतपेटिकाको सुरक्षा एउटै ढोकामा तीन ताला

गोरखा । गोरखाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार साँझ मतदान सकिएसँगै शिलवन्दी गरिएका मतपेटिका सदरमुकाम जम्मा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

उत्तरी गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने भएकाले आइतबार नै ल्याउन सकेनौं,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘बाँकी सबै ठाउँको मतपेटिका आइतबार राति नै ल्यायौं ।’

८ मतदान केन्ऽको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । सडक सञ्जाल नभएका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतेपटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिएको निर्वाचन अधिकारी सापकोटाले बताए । ‘वाम र लोकतान्त्रिक गठवन्धनका एकएक जना प्रतिनिधिलाई पनि सँगै पठाएर उनीहरुको रोहवरमा मतपेटिका ल्याएको हौं,’ उनले भने । मतगणना भने मंसिर २१ गते ४५ जिल्लामा दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र हुनेछ । गोरखामा त्यही दिन साँझ पाँच बजेबाट मतगणना हुनेछ ।

मतगणना नहुँदासम्म मतपेटिका बन्द कोठामा गरिनेछ । क्षेत्र नम्वर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय भवनमा राखिने छ भने २ को जिल्ला समन्वय समितिको भवनमा राखिने निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन बस्नेतले जानकारी दिए ।
त्यहाँ मतदान केन्द्र जस्तै तीन घेरामा सुरक्षाकर्मी खटाइने छ । ‘पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना हुन्छ’ प्रजिअ बस्नेतले भने, ‘जनपथ र सशस्त्र स्ट्याण्डवाइ बस्छन् भने सेना गस्ती गर्दै घुमिरहन्छ ।’

यसका साथै मतपेटिका राखिएको कोठाको ढोकामा तीन वटा ताला लगाइने भएको छ । ‘दुई गठबन्धनले एकएक वटा र मुख्य निर्वाचन अधिकृतले एक वटा गरेर एउटै ढोकामा तीन वटा ताला लगाइएको छ,’ उनले भने ।

मतपेटिका राखिएको कोठा वरपर राजनितिक दलका एक जना प्रतिनिधि पनि बस्न पाउनेछन् । आवश्यक परे सीसीटीभीको पनि व्यवस्था गरिने प्रजिअ बस्नेतले जानकारी दिए ।