सोमबार, बैशाख २१, २०८३

उम्मेदवारलाई लक्षित गरी भएको विस्फोट बन्द गर्न देउवाको आग्रह

काठमाडौं,६ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षालाई लिएर विपक्षीले सरकारको आलोचना गरिरहेका बेला मैले बम पड्काएको हो र भनेर प्रति प्रश्न गरेका छन् ।

बुधबार आफ्नै निवास बालुवाटारमा पत्रकार महासंघको टोलीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले यस्तो भनेका हुन । पछिल्लो समय कांग्रेस तथा वाम गठबन्धनका उम्मेदवारलाई लिएर बम विस्फोटका घटना भइरहेको छ ।

सुरुमा आफ्ना उम्मेदवारहरुलाई मात्र लक्षित गरी आक्रमण भएको भन्दै वाम गठबन्धनका नेताहरुले सरकार र विप्लव माओवादीको साठगाँठ रहेको बताएको थिए । तर, पछिल्लो पटक नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी एम्बुस विस्फोट गराएपछि विपक्षीले उम्मेदवारको सुरक्षा मागेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले हालै मात्र प्रधानमनन्त्रीले भएको गृहमन्त्रीलाई विना विभागीय बनाएको र बम पडिकरहँदा पनि मन्त्री नियुक्त नगरेको बताएका थिए । पत्रकार महासंघको टोलीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीको आलोचनाप्रति संकेत गर्दै भने, ‘बम मैले पड्काएको हो र ?

उनले उम्मेदवारलाई लक्षित गरी भइरहेको विस्फोट लगायतका गतिविधि बन्द गर्न पनि आग्रह गरे ।

उनले आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनाव कुनै हालतमा नसर्ने भन्दै ओलीले झुटो प्रचार गरेको बताए । उनले भने, ‘ओलीजीले गैरजिम्मेवार अभिव्यक्ति दिनु भएको छ ।’

आफू चुनाव गराउन लागिपरेको बताए । प्रधानमन्त्री देउवाले चुनावलाई सफल बनाउन संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखेका छन् ।