सोमबार, बैशाख २१, २०८३

निर्वाचनपछि संसदमा पहिचानवादी शक्ति बलियो हुने : यादव

सप्तरी,५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको निर्वाचनपछि संसदमा मधेस प्रदेश हिचानवादी शक्ति बलियो हुने बताएका छन् ।

सप्तरी–२ अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियामा मंगलबार आयोजित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त चुनावी सभामा यावदले सो कुरा बताएका हुन् ।

सो क्रममा उनले मधेस गठबन्धनले भारी मत ल्याउने र त्यसैको बलमा संविधान संशोधन गरिने बताए ।  ‘हामीले भारी बहुमत ल्याउदैछौ र त्यही बहुमतको बलमा संविधान संशोधन र मधेस प्रदेश गठन गर्छौ,’ यादवले भने ।

उनले संघीयता गणतन्त्र र समावेशीजस्ता मुद्दा तुहाउनका लागि बाम गठबन्धन उद्यत रहेको आरोप समेत लगाए । स्मरण रहोस, केही दिनअघि बाम गठबन्धनका सहयात्री चित्रबहादुर केसीले संघीयता खारेज गरिने अभिव्यक्ति दिएका थिए ।

मधेस आन्दोलनमा गोली बर्साउने दल र तिनका उम्मेदवार चिन्नका लागि यादवले मधेसी जनतासँग अपिल समेत गरे ।