रामेछाप,५ मंसिर । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना जारी गर्दै सुनापति गाउँपालिका ४ वेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति रामेछापको सोमबार बसेको बैठकको निर्णय अनुसार बेथान दंगाग्रस्त क्षेत्र बनेको हो ।
यहि मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुन सक्ने हिंसात्मक घटनालाई मध्यनजर गरी रामेछापमा सुरक्षा सर्तकता बढाएईको छ । जिल्लाको सुरक्षा परिचालन समितिले हिंसात्मक घटना हुने सम्भावना रहेको स्थानहरुलाई दंगाग्रस्त क्षेत्रको घोषणा गर्ने र सुरक्षा सर्तकता बढाउने निर्णय गरेको हो ।
जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानमा मंगलबार संयुक्त बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभामा हिंसात्मक घटना हुन सक्ने भन्दै उक्त स्थानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बेथानलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार मंगलबार बेथानमा वाम गठवन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको र दुवैपक्ष कार्यक्रम रोक्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिले उक्त आदेश जारी गरिएको हो ।
शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको उनले बताए । बेथानमा वाम गठवन्धनले पूर्व निर्धारीत कार्यक्रम गर्न नसकेपछि मंगलबार शक्ति प्रदर्शंन गर्ने तयारीका साथ चुनावी कार्यक्रम तय गरेको थियो ।

