शनिबार, बैशाख ०८, २०८१

जिम्बाब्बेका राष्ट्रपति मुगाबे पार्टीको नेताबाट बर्खास्त

काठमाडौं,४ मंसिर । जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ ।

जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट सत्तारुढ पार्टीले नेताबाट हटाउँदै राष्ट्रपति पदबाट राजीनामा दिन भनेको बीबीसीले लेखेको छ । तर,  मुगाबेले राष्ट्रको नाममा सम्वोधन गर्दै राजीनामाको प्रसंग उल्लेख नै गरेनन् बरु पार्टीको आगामी महाधिवेशनमा सहभागी हुने बताए । उनले आपसी कटुता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

जानु पीएफ पार्टीले मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गर्दै पूर्व उपराष्ट्रपति इमर्सन मन्गावालाई नयाँ नेताको रुपमा नियुक्त गरेको छ ।

मन्गावालाई राष्ट्रपति मुगावेले बरियता विवादमा दुई हप्ता अघि बर्खास्त गरेका थिए । उनले पत्नी ग्रेस मुगाबेलाई आफ्नो उत्तराधिकारी बनाउन उपराष्ट्रपति मनगावालाई बर्खास्त गरेको अनुमान छ ।

जानु पीएफले मुगाबे पत्नी ग्रेससहित केही नेताहरुलाई पनि पार्टीबाट हटाएको छ ।

गत हप्ता जिम्बाब्बेको सेनाले राष्ट्रपति मुगावेलाई नियन्त्रणमा लिएर राजधानी हरारेस्थित उनकै निवासमा नजरबन्दमा राखेको छ । यद्यपि उनले पद त्याग गर्न अस्वीकार गर्दै आएका छन् । सन् १९८० मा जिम्बाब्बे स्वतन्त्र भएदेखि मुगाबे निरन्तर सत्तामा छन् ।