डडेल्धुरा,३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै सरकार बन्ने दावी गरेका छन् ।
आइतबार प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने-”वाम गठबन्धनले नेपाली कांग्रेसलाई कुनै असर पर्दैन्, नेपाली कांग्रेसको सरकार बन्छ, बन्छ, बन्ने भइसकेको छ ।
पत्रकारहरुसँगको भेटघाटमा देउवाले उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट र आक्रमणका घटना भए पनि चुनाव नरोकिने बताए । निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिदै प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भइरहेकोप्रति घोर निन्दा र भत्सर्ना गरेका छन् ।
”यस्ता क्रियाकलाप गर्नेलाई कडा कारवाही हुन्छ”उनले भने, ‘भोलि काठमाडौं गएर सुरक्षा निकायको बैठक बोलाएर यस्ता खालका घटना हुन नदिन र यस्ता घटना गर्नेलाई कडा कारवाही गर्न म सुरक्षा निकायका प्रनिनिधिहरुलाई निर्देशन दिन्छु ।
पत्रकार सम्मेलनमा उनले आफू सरकारमा हुँदा सुदूरपश्चिमको विकास गरेको बताउँदै पश्चिम सेती जल विद्युत् आयोजनाको काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।
