बिहिबार, बैशाख १३, २०८१

बम पड्काउनेलाई सरकारले नियन्त्रण गर्न नसक्नु दुखद : ओली

काठमाडौं,२ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले बम पड्काउनेहरु लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरोधी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै ओलीले बम पड्काउने र शान्ति सुरक्षामा अवरोध गर्नेहरुलाई सरकारले किन प्रभावकारी ढंगले नियन्त्रण नगरेको भन्दै प्रश्न गरे ।

यसअघि, पनि सरकारले निर्वाचन नगर्ने मनसायले विभिन्न गतिविधि गरेको भन्दै ओलीले अहिलेको श्रृंखलाबद्ध बम विष्फोट हुनुमा शंका रहेको भए पनि प्रमाणित भने गर्न नसकिने बताए।  प्रधानमन्त्री देउवालाई शान्ति सुरक्षा कायम गर्न नसकेको प्रति ओलीले अक्षमताको आरोप लगाए। ‘उहाँलाई अक्षमजस्ता आरोप त पहिलेकै ट्याग हो नि,’ ओलीले भने, ‘काम चलाउ सरकारमा गृहमन्त्री पनि नभएको र प्रधानमन्त्रीको पनि राजीनामा माग्ने कुरा भएन, फेरि चुनाव भाँडिन्छ।’ सरकारले विगतमा भएका विभिन्न राष्ट्रिय महत्वका आयोजनाको सम्झौता खारेज गर्ने जस्ता काम गर्नु अलोकतान्त्रिक भएको बताउँदै ओलीले सरकारका मन्त्रीहरु पनि आफ्ना सीमा र लोकतान्त्रिक मान्यता विपरीतका गतिविधिमा लागिरहेको बताए। कम्युनिस्ट शासन आए जनताले बिहे पनि गर्न नपाउने प्रधानमन्त्रीको भनाइप्रति व्यंग्य गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा कसैको बिहे नरोकिएको बताए। ‘प्रधानमन्त्रीले यति सारो सिद्धान्त, विचार, नीति केही नभएर अनावश्यक कुरा गरेर दिग्भ्रमित पार्न खोजेर हुन्छ,’ ओलीले भने, ‘पराजयको त्रास र हतासाको अभिव्यक्तिप्रति म टिप्पणी गर्दिनँ, म प्रधानमन्त्री हुँदा कसैको बिहे रोकिएको थिएन।’ सरकारले कार्यकर्तालाई करोडौँ रुपैयाँ बाँडेको विषयमा ओलीले त्यस्ता घटनाको छानबिन हुनुपर्ने बताए ।

ओलीले सरकारले गरेका यसखालका क्रियाकलाप रोक्न निर्वाचन आयोगले प्रभावकारी काम गर्न नसकेको घुमाउरो जवाफ दिए। ‘निर्वाचन आयोगले सरकारको मनपरी रोक्न कत्तिको प्रभावकारी काम गरिरहेकोे छ भन्ने विषयमा तपाईहरुलाई पनि थाहा होला ओलीले भने। वाम पन्थीहरुको बहुमत आएपछि लोकतान्त्रिक प्रणाली, कानुनी राज्य, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, विकासका प्रतिफल जनतालाई दिने र समाजवाद उन्मुख नीति लिइने ओलीले बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफ्नो गृहजिल्ला झापाको दमकमा शनिबार हुन लागेको संयुक्त जनसभामा सहभागी हुन आएका हुन् ।