काठमाडौं,२ मंसिर । मंसिर १० र २१ गते नेपालमा दुईवटा निर्वाचन एकैपटक हुँदैछ। नयाँ संविधान अनुसार गर्नुपर्ने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा २१ गते हुँदैछ। प्रदेश र प्रतिनिधिसभा दुवै चुनावमा प्रत्यक्ष प्रणाली र समानुपातिक निर्वाचन पद्धति गरी मतदाताले चारवटा मत संकेत गर्नुपर्नेछ ।
नयाँ संविधान अनुसार पहिलो पटक हुन लागेको यस निर्वाचनमा धेरै मतपत्र हुँदा मत संंकेत गर्न अन्योल भएर बदर हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ। निर्वाचन आयोगले मत संङ्केत गर्ने तरिका र मतदानस्थलबारे जानकारी हुने गरी हालै एउटा भिडियो सार्वजनिक गरेको छ। युट्युवमार्फत सार्वजनिक भिडियोमा प्रदेश र प्रतिनिधिसभाको मतपत्रबारे जानकारी, मत संकेत गर्ने र खसाल्ने तरिका सिकाइएको छ। यसवर्ष निर्वाचनमा तीनवटा मतपत्र हुन्छ। प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिन छुट्टाछुट्टै दुई मतपत्र छ भने प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र एउटै भए पनि मत संकेत गर्ने खण्ड अलग अलग छ। मतदाताले मतदान केन्द्रमा सबैभन्दा पहिले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने मतपत्र पाउँछन्। यो मतपत्र हरियो रंगमा छापिएको छ। यस मतपत्रमा मतदान गरिसकेपछि हरियो रंगको स्टिकर टाँसेको मतपेटिकामा खसाउनुपर्नेछ। त्यसपछि, मतदाताले प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने कालो रंगमा छापिएको मतपत्र पाउँछन्। त्यसमा मत संकेत गरेपछि कालो स्टिकर टाँसिएकै मतपेटिकमा खसाल्नु पर्नेछ। समानुपातिकतर्फ भने प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै द्ध। तर त्यसमा प्रदेशसभा र प्रतिनिधिसभाको चिह्नहरु राखिएको अलग अलग खण्ड छ ।
रातो रंगले छापिएको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल रहेको खण्डमा प्रदेशसभाको लागि हो। ती दुबै खण्डमा एक/एक वटा चिह्नमा छाप लगाएपछि मतपत्रलाई रातो रंगको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्नेछ। थप जानकारीका लागि भिडियो हेर्नुस् कसरी मत हाल्ने ? हेर्नुस् भिडियो
