शुक्रबार, बैशाख १४, २०८१

लमजुङमा तीन दर्जन काँग्रेस नेता वाम गठबन्धनमा प्रवेश

लमजुङ, २९ कात्तिक । नेपाली काँग्रेसको गढ मानिने लमजुङको सुन्दरबजार नगरपालिकाको चन्द्रेश्वर गाउँका
तीन दर्जन काँग्रेस नेता कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
मंगलबार चन्द्रेश्वरको च्यानपाटामा भएको चुनावी सभामा नेपाल महिला संघ चन्द्रेश्वरको अध्यक्ष चन्द्रावती अधिकारी, चन्द्रेश्वर गाउँ कार्यसमितिका पूर्व सभापति देवीजंग दुरासहित तीन दर्जन काँग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
चुनावी सभामा विमान श्रेष्ठ, जीवन खनिया, लेखमाया दुरा, दिलमाया दुरा, शोभा श्रेष्ठ, विमला बास्तोला, तेजमाया गुरुङ, लक्ष्मी केसी, कल्पना सुवेदी, चन्द्रावती अधिकारी, डोलबहादुर विक, हरिबहादुर विकलगायतका काँग्रेस कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव एंव प्रदेश सभा ‘ख’ का उम्मेद्वार पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवप्रसाद गुरुङले टिका लगाएर प्रवेश गराउनुभएको हो ।
चुनावी सभामा बोल्दै नेताद्धय गुरुङले वाम गठबन्धनबाट मुलुकको सम्बृद्धि र विकास सम्भव रहेको बताउनुभयो । उहाँहरुले लमजुङको विकासका लागि वाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।