चितवन,१३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।
भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गरे ।
एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ । विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ । प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’
अध्यक्ष प्रचण्डले थपे- ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।
अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।
चितवन निर्वाचन क्षेत्र न. २ मा अध्यक्ष प्रचण्डले यो कुनै जटिल कुरा नभएको बताए । ‘आजै म एमाले अध्यक्ष केपी ओलीसँग भेट्दैछु । समयको चापले मात्रै निर्णय नभएको हो । आजैं टुंगो लाग्छ ।’ उनले भने ।
माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुँदा र नहुँदा भेटेको र राहात समेत दिएको उनले बताए ।
