धादिङ,११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भए जानकारी दिएका छन् । मृतकको पहिचान भने खुलिनसकेको जनाएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो ।
घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए ।
प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।
