बिहिबार, बैशाख ०६, २०८१

राष्ट्रपति विद्यादेवी भण्डारी कर्मघर ताप्लेजुङ पुग्दा भावुक

काठमाडौं,११ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कर्मघर ताप्लेजुङ पुग्दा भावुक बनेकी छन् । राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि पहिलोपल्ट शुक्रबार भण्डारी वाम आन्दोलनका लोकप्रिय नेता श्रीमान् मदन भण्डारीको जन्मघर पुगेकी हुन् ।
दुई छोरी उषाकिरण र निसाकुसुमसहित कर्मघर पुगेकी राष्ट्रपति आँगनमा पाइला राख्दा भावुक बनेकी थिइन् । भण्डारी ०७२ कात्तिक ११ मा नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
ताप्लेजुङको ढुंगेसाँघुमा २००९ सालमा जन्मिएका मदन र विद्यादेवीको विवाह ०३९ सालमा भूमिगत अवस्थामै भएको थियो । विद्याले मदन जन्मिएको ढुंगेसाँघुस्थित घरमा यसअघि पाइला टेकेकी थिइनन् । रेखदेखको अभावमा मदनको कर्मघर अहिले जीर्ण बनेको छ । घरका छानामा घाँस पलाएको छ । छानाबाट चुहिएको पानीले भित्ताहरू भत्कन थालेका छन् । आँगन पनि बाक्लो झाडीले ढाकिएको छ ।

राष्ट्रपति आउने भएपछि गाउँपालिकाले जीर्ण मदनको घरको सरसफाइ गरेको थियो । घरसम्म जान मोटरबाटोसमेत खनिएको थियो । बिहान १० बजेदेखि नै गाउँले राष्ट्रपतिको प्रतीक्षामा थिए । दिउँसो १ बजे दुई छोरीसहित राष्ट्रपति भण्डारी घर प्रवेश गरिन् । मूलढोका छेउमा रहेको ओखलमा मदन जन्मिएका थिए । श्रीमान् जन्मिएको स्थान ओखल अवलोकन गर्ने क्रममा उनी भावुक देखिएकी थिइन् ।

राष्ट्रपतिको स्वागतमा स्थानीयले विभिन्न झाँकी प्रस्तुत गरेका थिए । पहिलो पटक आफ्नो कर्मघरमा आउन पाएकोमा राष्ट्रपतिले खुसी व्यक्त गरिन् । श्रीमान्सँग आउन नपाए पनि घरसँग व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको राष्ट्रपतिको भनाइ थियो । राष्ट्रपति भण्डारीले भनिन्, ‘यो घर व्यक्तिगत नभई सबैको साझा सम्पत्ति हो, यसको संरक्षणमा सबै लाग्न जरुरी छ ।’ छोटो सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले श्रीमान्सँगै यहाँ आउन नपाएकोमा दुःख व्यक्त गरेकी थिइन् । उनले मदनको जीर्ण घर संरक्षणका लागि सक्दो प्रयास गर्ने आश्वासन दिइन् ।

‘जीर्ण घरवरिपरि कम्पाउन्ड लगाउने, बगैंचा बनाउने, घरछेउको पहिरो नियन्त्रण गर्ने र घरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने राष्ट्रपतिका कुरा मीठा छन्’, स्थानीय चिरञ्जीवी चोङवाङले भने, ‘राष्ट्रपतिले आँसु झारेरै ढुंगेसाँघुको विकास र उक्त घरको संरक्षणका लागि मरिमेट्ने बताएपछि मदनको जन्मघर संरक्षण भई पर्यटकीय स्थलका रूपमा विकास हुनेमा हामी आशावादी छौं ।

मैवाखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन राष्ट्रपति ताप्लेजुङ आएकी हुन् । त्यसअघि उनले पाथिभरा देवीको दर्शन गरेकी थिइन् । दर्शनपछि सदरमुकाम फर्किएकी राष्ट्रपतिलाई फुङलिङमा कञ्चनजंघा संरक्षण क्षेत्रले संरक्षण क्षेत्रभित्रका चुनौती र अवसरका विषयमा प्रस्तुति दिएको थियो । @ अन्नपूर्ण पोस्ट