ललितपुर,९ कार्तिक । नेपाली कांग्रेसले राजपा र संघीय फोरमको मागअनुसार प्रतिनिधिसभाको ५५ सिट दिन नसकिने बताएको छ ।
कांग्रेसले आज विहीबार बिहान ८ बजे राजपा र संघीय फोरमसँग चुनावी तालेमलबारे औपचारिक वार्ता गर्दैछ ।
बुधबार कार्यदल स्तरमा भएको छलफलमा राजपा र संघीय फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेशमा १३१ सिटको दाबी प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाका ५५ सिटमध्ये २४ सीट प्रदेश २ मा मात्रै छ ।
तर, कांग्रेसले राजपा र फोरमको दाबी आधारहीन भएको बताएको छ । संसदीय समितिका सदस्य प्रकाशशरण महतले अनलाइनखबरसँग भने, ‘उहाँहरुको दाबी अलि रियालिस्टक भएन, वास्तविक धरातलका आधारमा टुंगो लगाऔं भनेका छौं । यसबारे भोलि छलफल गर्छौं ।’
चुनावी तालमेल टुंगो नलाग्दा उम्मेदवार छनोट प्रभावित भएको निष्कर्ष निकाल्दै कांग्रेसले भोलि निर्णायक छलफल गर्ने बताएको छ । कांग्रेसले तराई मधेसका सबै क्षेत्रमा भन्दा पनि वाम गठबन्धनले जित्ने ठाउँहरुमा उसलाई रोक्ने रणनीतिअनुसार राजपा र संघीय फोरमसँग चुनावी तालमेल गर्न चाहेको देखिन्छ । आ-आफ्नो जित पक्का भएको ठाउँमा तालमेल नहुन सक्ने भन्दै कांग्रेस नेता महतले भने, ‘जहाँ हामी दुबै मिल्दा मात्रै जित्न सकिन्छ, त्यहाँ तालमेल गर्न चाहेका छौं ।
चुनावी तालमेलमा स्थानीय तहको मतसँगै संविधानसभा ०७० लाई पनि आधार बनाउनुपर्ने कांग्रेसले बताएको छ
