मन्थली,२ कात्तिक । रामेछापमा नेकपा (एमाले)र नेकपा माओवादी केन्द्रबीच आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहमति जुटेको छ । सहमति अनुसार एउटा मात्र प्रतिनिधिसभा माओवादीले लिने र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले लिने सहमति जुटेको हो ।
कार्यदलमा भएको सहमति अनूसार माओवादी केन्द्रले रामेछापबाट प्रतिनिधिसभाको उम्मेदवार पाउने भएको छ भने एमालेले भने रामेछापको प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेछ ।
सुरुमा माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ पाउनु पर्ने अडान लिएको थियो । तर कार्यदलमा कि प्रतिनिधिसभा कि प्रदेशसभा रोज्न भनेपछि माओवादीले प्रतिनिधिसभा लिएर प्रदेशसभा छोडने सहमति जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा रामेछापको ८ वटा स्थानी तह मध्ये एमालेले पाँच, माओवादीले २ र नेपाली कांग्रेसले १ वटा स्थानीय तहमा विजयी हासिल गरको थिए ।
रामेछापबाट माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको लागि स्थायी समिति सदस्य युवराज चौलागाई, विना विभागीय राज्यमन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, पूर्व सभासद डिल्लीमान तामाङ सम्भावित उम्मेदवारमा सिफारिस गरेको छ । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य भइरहेको छ ।
प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्र एमालेले पाएको खण्डमा रामेछाप क्षेत्र नम्बर १ प्रदेशसभाको लागि एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्ति पौडेलले पाउने सहमति एमालेभित्र जुटिसकेको छ ।
रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले पाएको अवस्थामा रत्न गौतम, होम बुढाथोकी र ज्ञानकुमार श्रेष्ठ मध्ये एकले टिकट पाउने सम्भावना रहेको छ ।
