शुक्रबार, बैशाख ०७, २०८१

विस्फोटक पदार्थ बरामद

खोटाङ, १ कातिक

सामुदायिक सेवा केन्द्र खोटाङबाट गस्तीमा गएको प्रहरीले रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङबाट विस्फोटक पदार्थ बरामद गरेकोे छ ।

प्रहरीले स्थानीय पदमबहादुर पाण्डेको घरबाट गए राति चार थान डेटोनेटर र एक थान फ्युजसहित तार बरामद गरेको हो । डेटोनेटर र फ्युज बरामद गर्नासाथ सोधपूछ गर्दा पाण्डेका ज्वाइँ पर्ने सोही नगरपालिका–१५ विजयखर्कका गणेश खनालले राखेको खुलासा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

अहिले कारागारमा रहेका खनालले ससुरा पाण्डेसँगको रिसइबीमा उनलाई फसाउन उनको घरको कोठामा उक्त विस्फोटक पदार्थ लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

ससुरा ज्वाइँको व्यक्तिगत रिसइबीमा खनालले पाण्डेलाई गत भदौ २५ गते खुकुरी प्रहार गरेका थिए । ज्वाइँको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पाण्डेले खनालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेपछि उनले ससुराको घरमा बिस्फोटक पदार्थ लुकाएर राखिदिएको प्रहरीको अनुमान छ ।

खनालले २०६९ पुस १४ गते सोही नगरपालिका–१ दिक्तेलस्थित त्रिवेणी चोकका होटल व्यवसायी योगराज लुईंटेललाई मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । लुर्इंटेललाई कुटपिट गर्नासाथ पक्राउ परेका खनाल अदालतको आदेशमा पाँच हजार धरौटी तिरेर तारेखमा छुटेका थिए ।

अनुसन्धानको घेरामा रहेका खनाललाई अदालतले २०७१ कातिक १८ गते चार वर्ष ११ महिना चार दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसलालगत्तै फरार रहेका खनालले पुनः गत भदौ २५ गते ससुरालाई मरणासन्न हुनेगरी कुटपिट गरेर फरार भएका थिए । उनलाई प्रहरीको विशेष टोलीले काठमाडौँबाट पक्राउ गरेको थियो ।