काठमाडौं,१ कात्तिक । पहिलो पुस्ताका अग्रज कम्युनिस्ट नेता मानिने रिपुमर्दन अधिकारीको निधन भई दाहसंस्कार सम्पन्न भएको छ ।
वि.सं. १९९३ भदौ १७ मा रामेछापको गेलु– ३ (हाल मन्थली– १२) मा जन्मेका अधिकारीको ८१ वर्षको उमेरमा मंगलबार साँझ राजधानीमा निधन भएको हो ।
पञ्चायती निरंकुशताका कारण राजनीतिक दलहरु भूमिगत रहेका बेला तत्कालीन नेकपा (माले) को वैधानिक संगठनका रुपमा ०४४ मा रामेछाप संगम केन्द्रको स्थापना भएको थियो । रिपुमर्दन नै उक्त संस्थाका संस्थापक थिए । ०४६ को राजनीतिक परिवर्तनपछि यन खत्री (हाल दिवंगत) को नेतृत्वमा खत्री नै सचिव रहेर गठन भएको नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीमा अधिकारी सदस्य थिए ।
२०५२ देखि हालको स्वरुपमा गठन हुँदै आएको नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चका प्रथम अध्यक्ष थिए रिपुमर्दन । २०५४ मा वामदेवी–सीपी मैनालीको नेतृत्वमा एमाले विभाजित भई नेकपा (माले) बनेपछि उतै लागेका रिपुमर्दन मालेको सम्पर्क मञ्चकै अध्यक्ष भए । माले–एमाले एकता भएपछि उनै रिपुमर्दन पुनः एमाले सम्पर्क मञ्चको अध्यक्ष बनेर ०६१ सम्म जिम्मेवारी सम्हाले ।
त्यसपछि अधिकारीले बागमती अञ्चल सम्पर्क मञ्चको अध्यक्ष र पछि सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य, ३ नं. प्रदेश सम्पर्क संगठन कमिटीको सल्लाहकारलगायतका भूमिकामा काम गरे । हाल केन्द्रीय सम्पर्क समन्वय कमिटीको सल्लाहकारमा सिफारिस भएका अधिकारी एमाले रामेछापबाट केन्द्रीय संसदका लागि समानुपातिक उम्मेदवारमा समेत सिफारिस भए ।
तिनै पुस्ता एमाले राजनीतिमा सक्रिय रहेका अधिकारीका श्रीमती, ४ छोरा र १ छोरी छन् । उनका छोरा कृष्णहरि अधिकारी स्थानीय निकायको निर्वाचनबाट मन्थली– १२ को वडा अध्यक्षमा निर्वाचित भएका छन् भने नाति सागरहरि अधिकारी अनेरास्ववियुको रामेछाप जिल्ला अध्यक्ष छन् ।
बुधबार बिहान पशुपति आर्यघाटमा अधिकारीको दाहसंस्कार गरियो । उनलाई श्रद्धाञ्जली दिन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता पशुपति चौलागाईंलगायत हजारौं जिल्लावासी नेता–कार्यकर्ता र शुभचिन्तक आर्यघाट पुगे ।
बुधबारैदेखि देउसी–भैलो कार्यक्रम आयोजना गरेको नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले कार्यक्रम स्थगित गरेर अधिकारीको शवयात्रा र दाहसंस्कारको अगुवाई गर्यो । १३औं दिनको तिथिमा कात्तिक ११ गते राजधानीमा श्रद्धाञ्जली सभा आयोजना गरिने मञ्चका अध्यक्ष बद्री भण्डारीले बताए ।
अधिकारीको निधनले सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमै क्षति पुगेको उल्लेख गर्दै इतिहास बोकेका जिम्मेवार नेता, अग्रज एवं अभिभावक गुमाउनु परेकाले रामेछाप–काठमाडौं सम्पर्क मञ्च शोकमा डुबेको भण्डारीले बताए ।
