शुक्रबार, बैशाख ०७, २०८१

एमाले ठूलो पार्टी भइसक्यो : एमाले अध्यक्ष ओली

भक्तपुर,२९ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताउनुभएको छ ।

बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताउनुभएको हो ।

नेता ओलीले भन्नुभयो, संसद् नभएको अवस्थामा आजको दिनबाट स्थानीय तहको निर्वाचनमा मतपरिणामको हिसाबले एमाले देशको सबैभन्दा ठूलो पार्टी भइसक्यो ।

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उहाँको आरोप थियो ।
एमाले, नेकपा(माओवादी केन्द्र) र राप्रपा गठबन्धनबाट उपसभामुख हुनुभएका यादवले आजदेखि आफू एमाले भएको बताउनुभयो । यादवले भन्नुभयो,“मैले मेरो पूर्वपार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुञ्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिएँ, त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको हुँ ।

कार्यक्रममा चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गर्नुभएको थियो । यादव र बस्नेतलाई एमाले महासचिव ईश्वर पोखरेल र एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत गर्नुभएको थियो ।