काठमाडौं,२६ असोज । वाम गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ ।
बुधबार बालकोटस्थित केपी ओलीको निवासमा केपी ओली र डा. बाबुराम भट्टराईवीच र भएको छलफल सकारात्मक हुन नसकेपछि नयाँशक्तिले यस्तो चेतावनी दिएको हो ।
भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो ।
तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि उनी रिसाएर फर्किएको स्रोतले बतायो ।
एमाले, माओवादी र नयाशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागे हो ।
वाम गठबन्धनमा सहभागी भएका नयाँशक्ति पार्टी लगायतका दललाई सीट छुट्याइसकेपछि बाँकी रहेका सीटमा मात्रै एमाले र माओवादीवीच ६०/४० को भागवण्डा गर्ने सहमति भएको नयाँशक्तिका नेताको दाबी छ ।
तर, माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखिरहेको र पुरानो तुष कायमै राखेको गुनासो नयाँशक्तिका नेताले गरेका छन् ।
बालकोटबाट चित्त दुखाएर फर्केका डा. भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए । सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग गरे ।
