शुक्रबार, बैशाख ०७, २०८१

माओवादी केन्द्रले माओवाद र पहिचानको मुद्दा नछाड्ने : प्रचण्ड

काठमाडौं,२५ असोज । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएका छन् ।

मातृका यादव र गोपाल किरातीको जोडबलमा सोमबार पेरिसडाँडामा सचिवालयको बैठक डाकेका प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाडिने आश्वासन दिएका हुन् । प्रचण्डको आश्वासनपछि किरातीले माओवादी केन्द्रबाट तत्काल विद्रोह नगर्ने प्रतिवद्धता जनाएका छन् ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयप्रति गोपाल किराती र मातृका यादव असन्तुष्ट थिए । किरातीले पार्टीबाट विद्रोह गर्ने चेतावनी प्रचण्डलाई दिएका थिए भने यादवले चाहिँ असन्तुष्टिका बावजुद विद्रोह नगरी अन्तरसंघर्ष चलाउने बताउँदै आएका थिए ।

पेरिसडाँडामा करिब ४० जना सचिवालय सदस्यहरुको उपस्थितिमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएपछि गोपाल किराती पनि तत्काल विद्रोहको बाटोमा नगई मात्रिका यादवको जस्तै अन्तरसंघर्ष गरेर पार्टीभित्रै रहन सहमत भएको बताए ।

एमालेसँग पार्टी एकताको घोषणासँगै नेता गोपाल किराती माओवादी पार्टी पुनर्गठनको तयारीमा लागेका थिए । तर, प्रचण्ड निवास लाजिम्पाटमा दुई दिनसम्म भएको छलफलपछि उनी पार्टीभित्रै रहेर अन्तरसंघर्ष चलाउने निश्कर्षमा पुगेका हुन् ।

असोज २१ गते किराती प्रचण्डसँग कुराकानी टर्ने भन्दै बिहान ७ बजे लाजिम्पाट पुगेका थिए । तर, एक घण्टासम्म छलफल गरेपछि उनको ब्लड प्रेसर बढ्यो र निवासतर्फ फर्किए ।

असोज २२ गते पुनः प्रचण्ड र किरातीवीच छलफल भयो ।