शुक्रबार, बैशाख १४, २०८१

मानवाधिकारवादी सङ्घसंस्थालाई जनचेतना वृद्धि गर्न आग्रह

काठमाडौँ, २३ असोज

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको स्थितिमा सुधार नभएसम्म मुलुकको अन्य क्षेत्रको विकास नहुने बताउनुभएको छ ।
डेमोक्र्याटिक फ्रिडम एण्ड ह्युमन राइट इन्स्टिच्युटले ‘एशियाली मानवअधिकार बडापत्र तथा प्रजातन्त्र र न्यायमाथिको अधिकार’ विषयमा आयोजना गरेको तीनदिने कार्यशाला गोष्ठीमा उहाँले नेपालमा प्रजातन्त्र स्थापनापछि पनि मानवाधिकारमा खासै प्रगति नभएकाले मानवाधिकारवादी सङ्घसंस्थालाई जनतामा चेतना वृद्धि गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेलले सार्क बडापत्रमा उल्लिखित भावना कार्यान्वयन गर्न सकेमा यस क्षेत्रमा मानवाधिकारको स्थितिमा सुधार आउने बताउनुभयो ।

कार्यक्रममा भारतका मानवाधिकारकर्मी ओनिल क्षेत्री म्यायुम तथा अन्जुमान आरा बेगम तथा बंगलादेशका नासिर उडिन एलान तथा जिया हेडरले दक्षिण एशियामा मानवाधिकार तथा लैङ्गिक समानताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मंगलबार पाकिस्तानका उन निसा ओमार, श्रीलंकाका डिनुशिका डिसानायके र सुरेन पेरेरा तथा नेपालका नितु पोखरेल र पद्यप्रसाद खतिवडाले कार्यपत्र पेश गर्ने कार्यक्रम छ । त्यस्तै अदालतसहित न्यायिक संस्थाको भूमिका, प्रहरी र मानव अधिकार संस्थाको स्थितिमाथि पनि छलफल हुने बताइएको छ ।