काठमाडौँ,२३ असोज । सभामुख ओनसरी घर्तीले मिडिया संविधानभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडियामा अभिव्यक्ति स्वतन्त्रता र सीमान्तीकृतको आवाजलाई अगाडि ल्याउने सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सभामुख घर्तीले सीमान्तीकृत तथा पछाडि पारिएको वर्गलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको हो ।
सभामुख धर्तीले मिडियामाथिको नियमन आवश्यक भए पनि यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भने कुण्ठित पार्नु नहुने धारणा राख्नुभएको थियो । अब बन्ने ऐन र कानुनका विषयमा पत्रकारहरू सचेत हुनुपर्ने सभामुख घर्तीले बताउनुभयो । कार्यक्रममा महासंघका सभापति गोविन्द आचार्यले लेख्ने स्वतन्त्रता संवैधानिक रूपमै सुनिश्चितता गरिए पनि अन्य चुनौतीहरू रहेको बताउनुभयो । प्रेसविरोधी कानुन नबनुन् भनेर नेपाली प्रेस र आमजनता सचेत हुनुपर्ने धारणा उहाँको थियो ।
कार्यक्रममा इन्टरनेसनल अलर्टकी नेपाल प्रतिनिधि रबिना श्रेष्ठ, प्राध्यापक पी खरेल, पत्रकार किशोर नेपाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । दुई दिनसम्म चल्ने कार्यक्रम इन्टरनेसनल अलर्टको सहकार्यमा पत्रकार महासंघले आयोजना गरेको हो ।
