शुक्रबार, चैत १६, २०८०

निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या

काठमाडौं,२३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

गौचनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

हत्या आशंकामा तीन जनालाई पेस्तोलसहित पक्राउ

प्रहरीले  गौचनको हत्या आशंकामा तीन जनालाई पेस्तोलसहित पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको रोशी नगरपालिका ४ का  छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् । उनीहरू गौचनको हत्यामा संलग्न भए/नभएकोबारे एकीन नभएको र घटनाबारे गहन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।