सोमबार, बैशाख २१, २०८३

संघीय फोरम र राजपाविच चुनावी तालमेलको घोषणा

काठमाडौं,२२ असोज । तराई मधेश केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले आपसी तालमेलको घोषणा गरे ।
दुवै पार्टीका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा आगामी चुनावी प्रतिस्पर्धामा जाँदा बरावर सिट बाँडफाँड गर्ने र अरु कुनै गठबन्धनमा सामेल भए संयुक्त दावी पेश गर्नेसम्म उल्लेख छ ।

रुपान्तरित संसदमा फोरमका तर्फबाट प्रत्यक्ष निर्वाचित २ र समानुपातिक १३ गरी १५ सदस्य छन् । त्यस्तै राजपाका २० समानुपातिक र ५ निर्वाचित गरी २५ सांसद छन् । यद्यपि गत स्थानीय निर्वाचनमा यो समीकरण केही हदसम्म परिवर्तन भयो । राजपाले जनकपुर उपमहानगर जितेको छ भने फोरम नेपालले बीरगञ्ज महानगरको मेयर जितेको छ । यस्तो अवस्थामा दुवै पार्टीको संयुक्त हिसाव किताव के देखिन्छ भने कांग्रेससँग तालमेल गर्नुभन्दा आपसी तालमेलमै बढी फाइदा उनीहरुलाई छ ।

फोरम र राजपा दुवैको प्रभाव क्षेत्र प्रदेश २ नै हो । पश्चिमी तराईमा प्रभाव पार्न सक्ने नेताहरु हृदयेश त्रिपाठीको नेतृत्वमा स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग तालमेल गर्ने निर्णयमा पुगिसकेका छन् । त्रिपाठी लगायतका ५ नेताले एमालेको सूर्य चिन्हमा नै चुनाव लड्ने पक्का भइसकेको छ । परम्परागत रुपमा एमाले कमजोर रहेका ती निर्वाचन क्षेत्रमा स्वतन्त्र राजनीतिक समुहका तर्फबाट चुनाव लड्दा एमालेको आफ्नै मत, एमालेसँग एकता भएका बाम दल र राजपाको समेत मत जोडिंदा उनीहरुको स्थिति बलियो हुने देखिन्छ । त्यसैले प्रदेश २ लाई नै फोरम र राजपाले मुख्य आधार क्षेत्र मानेका छन ।