शुक्रबार, जेठ ०३, २०८२

माओवादी सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल

काठमाडौँ, २१ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छ ।

सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।

संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्काेमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।”

बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।

त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभयो ।

यस्तै पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजै पोलिटब्यूरोको बैठक बोलाएको छ ।
बैठकमा एमाले, नयाँ शक्तिसँग भएको पार्टी एकताको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठक केही बेरपछि राष्ट्रिय सभागृहमा बस्दै छ ।