बिहिबार, बैशाख १३, २०८१

बाम एकता अस्वाभाविक र अप्राकृतिक : नेता भण्डारी

भक्तपुर, १९ असोज। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बृहत बाम एकता अस्वाभाविक र अप्राकृतिक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिले आज सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले वाम एकताको आधार समेत नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–“माओवादी आफैमा छिन्न भिन्न छ, सिपी मैनाली, मोहन वैध, विप्लव समूहलाई एकतामा ल्याउन सकेको छैन, बृहत वाम एकताको कुनै आधार छैन, विदेशीको ईशारामा हतारिएर गरिएको अस्वाभाविक र अप्राकृतिक यो गठबन्धन टिक्दैन ।”

बाम एकताले आगामी मंसिरमा हुने निर्वाचनमा लोकतन्त्रवादीलाई धक्का दिन सक्ने भन्दै उहाँले काँग्रेस यसतर्फ गम्भीर भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले अहिलेको जटिल परिस्थितिमा पार्टीले टिकट दिँदा पुराना र योगदान गरेका व्यक्तिको छनौट गरी टिकट बाड्नुपर्नेमा जोड दिँदै अन्यथा स्थानीय तहको निर्वाचन कै जस्तै परिणाम भोग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, काँग्रेस नेता बाबुराजा जोशी, पूर्व अध्यक्ष तिलक कायस्थ, नगर सभापति राम कासुलालगायतले मंसिरका निर्वाचनका लागि काँग्रेसलाई गाउँ तहदेखि नै एक ढिक्का बनाएर लैजानुपर्छ भन्नुभयो ।रासस