शुक्रबार, चैत १६, २०८०

एउटै कम्युनिस्ट बन्ने निश्चित,नाम नेकपा र चुनाव चिन्ह सूर्य राख्ने

काठमाडौं,१९ असोज । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ ।

एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो ।

सहमति निर्माणमा सहभागी गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य राख्ने सहमति केपी ओली र प्रचण्डबीच भइसकेको खुलासा गरेका छन् ।  शर्माले भने- ‘नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर सूर्य चिन्हमा चुनाव लड्ने सहमति भइसकेको हो । तर कानुनी अड्चनका कारण यो चुनाव अगाडि एउटै पार्टी र एउटै चिन्हमा चुनाव लड्न सकिएन ।’

सूर्य चिन्ह जनताको मनमा स्थापित भइसकेको र आम जनता २५ वर्षदेखि सूर्यमै भोट हाल्न अभ्यस्त भइसकेकाले अरु विकल्प नखोजिएको नेताहरुले बताए । माओवादीभित्र यसअघिनै चुनाव चिन्ह फेर्नेबारे बहस भइसकेको थियो ।

चुनाव चिन्ह र पार्टीको नाममा शीर्ष तहमै सहमति भइसकेको एकता वार्ताहरुमा सहभागी एमाले उपमहासचिव बिष्णु पौडेलले स्वीकार गरे  ।