रुपन्देही,१६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसवासी हित र भावनाअनुसार संविधान संशोधन गरिने बताएका छन् । संविधान संशोधन कांग्रेसको नेतृत्वमै हुने उनले बताए ।
रुपन्देहीको मझगाँवामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे ।
कांग्रेस सभापति समेत रहेका देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले पनि स्थायित्व पाउने भन्दै त्यसका लागि सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे। अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने नेता पौडेलले बताए ।
यसैगरी कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब कांग्रेसको काँधमा आएको बताए।
