सोमबार, बैशाख २१, २०८३

पक्षपात नगरी योग्य उम्मेदवार छनोट गर्नुपर्नेमा नेतृ सुजाताको जोड

विराटनगर,१५ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय चुनावमा उम्मेदवार छनोट गर्दा पक्षपात भएकाले कांग्रेसले राम्रो परिणाम ल्याउन नसकेको बताएकी छन् ।

उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने पक्षपात नगरी योग्य उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिइन् ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब हुने निर्वाचनमा गुटबाट माथि उठेर कार्यकर्ताको माझबाट छनोट भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताइन् ।

पार्टीभित्रको विवादलाई पनि छिटो मिलाउनुपर्ने धारणा उनले राखिन् । ‘पार्टीभित्रको विवादलाई गिरिजाबाबुले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नुहुन्थ्यो उनले भनिन्, ‘कतिपय जिल्लामा विवाद देखिएकाले पार्टी सभापतिले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नु नै उचित देखिन्छ ।

स्थानीय तह निर्वाचनमा कतिपय ठाउँमा मतदाता र उम्मेदवारलाई समेत पैसा वितरण गरिएको भन्दै उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् ।