शनिबार, जेठ ०४, २०८२

प्रधानमन्त्री देउवा स्वदेश फर्कंदै

मस्कट , प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा सहभागी हुनाका साथै ओमनको तीनदिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा महासभामा भाग लिई स्वदेश फर्कने क्रममा यही असोज ९ गते ओमनको मस्कट पुग्नुभएको थियो । उहाँको भ्रमणलाई ओमन सरकारले औपचारिकता प्रदान गरी उच्च सम्मानका साथ स्वागत गरेका थिए ।

ओमन भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रधानमन्त्री देउवालाई ओमनका यातायात तथा सञ्चारमन्त्री डा अहमद मोहम्मद अल फुतैसी, मन्त्रिपरिषद्का महासचिव सेख ए–फढल मोहम्मद अल हर्थी, राजदुत सेख यहया अबदुल्ला अल–फना अल अरैमी, ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया विभाग प्रमुख सेख हिलाह मर्हुन अल मम्मारीलगायतले बिदाइ गर्नुभएको थियो ।

ओमन भ्रमणमा प्रधानमन्त्री देउवासँग ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत उच्चअधिकारीले भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले ओमनमा रहँदा खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।

महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवा आज राति स्वदेश फर्कंदै हुनुहुन्छ ।